माघ १६ ,काठमाडाैं । दीपकराज गिरि र दीपाश्री निरौलाको निर्माण रहेको यस बर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीत ‘दर्शन सलाम’को सार्वजनिक गीतमा दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारहरुलाई फिचर्ड गरिएको छ ।
डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत निर्देशन छ ।उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् । नरेन्द्र मैनालीको छायांकन र कविराज गहतराजको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।फिल्मका महत्वपूर्ण दृश्यांश समेटिएको गीतमा गाउँको चुनावको सन्दर्भ र परिवेश समेटिएको छ, जसले गर्दा गीतलाई फिल्मको टिजर पनि मान्न सकिन्छ ।
फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन्। केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई दीपकराज गिरीले लेखेका हुन्। ‘छक्कापञ्जा ४’ आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।दिपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहेको छ ।


