चैत्र २० ,चितवन। गत मंसिरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
गत मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पद त्यागेर कोइराला चितवन ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले माओवादीलाई छोडेको थियो ।
पार्टीको निर्देशन नमानेको भन्दै कांग्रेसले कोइरालालाई कारबाही गरेको थियो। उनी मंसिर ४ को चुनावमा पराजित भएका थिए। यहाँ उनलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो। त्यसबेला एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्तासमेत लिएका थिए।
तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्। अहिले एमालेले उपनिर्वाचनका लागि चितवन २ मा रामप्रसाद न्यौपानेलाई नै उम्मेदवार बनाएको छ।
कोइरालाले वक्तव्य जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन मतदातालाई अपिल गरेका छन्।
‘नेपालको राजनीतिक, सामाजिक, धार्मिक, आर्थिक वातावरण सजिलो बाटोमा गइरहेको छैन। अर्थतन्त्रमा सबैभन्दा बढी समस्या देखिएको छ। कांग्रेसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन अगुवाइ गर्नुपर्छ, तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ प्रतिनिधि सभामा पुग्नैपर्ने सशक्त उम्मेदवार हुन्,’ कोइरालाले अपिलमा भनेका छन् ।
उनले आवेगमा नभई विवेक र वुद्धिमता प्रयोग गर्न मतदातालाई आग्रहसमेत गरेका छन्। नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मंसिर ४ को निर्वाचनमा पार्टीका नेता कार्यकर्तालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।


