बैशाख २ , काठमाडौँ। नवल खड्काको निर्देशन रहने फिल्म ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक भएको छ । सत्यकला राई ,राजेश पायल राई र जे पापीको स्वर रहेको ” काँडेतार” बोलको टाइटल गीतमा मणि थापाको संगीत रहेको छ भने मिलन कान्छा किरातीको शब्द रहेको छ ।
फिल्म ‘काँडेतार’ मा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवी शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय फिल्ममा छ ।
सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘काँडेतार’ चाँडै प्रदर्शनमा आउने तयारी रहेको छ । ‘काँडेतार’को कार्यकारी निर्माता गायिका सत्यकला राई हुन्।
फिल्मको कथा लेखनमा निर्देशक खड्काले शिवम् अधिकारीसँग सहकार्य गरेका छन्। सौरभ लामाले छायांकन गरेको ‘काँडेतार’मा श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य रहेको छ।खड्काले यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका छन् ।
फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको छ ।नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको फिल्म राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलले बताए । ‘दुई मुलुक बीचको खुला सीमाको समस्या र समाधानको विषय फिल्मले गहिरिएर देखाउने छ’ निर्देशक नवलले भने, ‘फिल्मले दुबै देशलाई समस्या समाधानको बाटो समेत दिनेछ ।’ फिल्म कुनै देश बिरुद्ध नभएको जनाएका खड्काले भारतमा पनि फिल्म रिलिज हुने बताए ।


