असार २३ , काठमाडौँ । आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड गीतको भिडियोमा अभिनेत्री सिवाकोटी बोल्ड अवतारमा प्रस्तुत छिन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको छ । अनिस अधिकारीको शब्द रचना तथा संगीत रहेको गीतलाई बाबुल गिरीले एरेन्ज गरेका हुन् । गीतको अडियो पक्ष बलियो रहेको छ ।
सार्वजनिक गीतको छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी समेत भएको थियो । त्यसबाट निर्मातालाई लाखौं रुपैयाँ क्षति भएपनि नयाँ सेट तयार पारेर गीतको छायांकन गरिएको हो । सिनेमाले आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताइएको छ ।
सिनेमामा मुकुनका अलवा मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको पनि अभिनय रहेको छ । सिनेमाको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल, निर्मातामा लक्ष्मण रिजाल र कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् ।


