असोज ११ ,चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताउनुभएको छ ।बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गर्नुभयो ।
भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १ दर्जनभन्दा बढी ताल, चारैतिर जंगल र उच्च भूभाग चौकी डाँडा पनि महानगरमै रहेकाले देशको दोस्रो पर्यटकीय गन्तव्य बन्नेमा आशावादी रहेको बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटकलाई हिंसात्मक बाघ देखाइने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा केजमा हिंसात्मक वा नरभक्षी बाघलाई पर्यटकलाई देखाउने गरी काम अगाडि बढेको पनि जानकारी दिनुभयो । उहाँले भरतपुरमा क्रुजदेखि साना बोटहरु सञ्चालनमा रहनुका साथै भरतपुर २९ को चौकीडाँडामा प्याराग्लाडिङको सुविधा पनि लिन सकिने जानकारी दिनुभयो ।उहाँले गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

भ्रमण वर्षको अवसरमा पहिलो पटक यसरी टुरमा निस्किएको टोलीलाई स्वागत गरिएको पनि बताउनुभयो ।टोलीले भरतपुरका १ दर्जन बढी ठाँउमा घुम्ने छ । बाईक टुरका संयोजक विष्णु विवेकलाई प्रमुख दाहालले भरतपुर भ्रमण वर्षको लोगो अंकित झण्डा हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले भरतपुरमा निकुञ्जसहित भारतको गया, कासी बराबरको धामिर्क पर्यटकीय स्थल देवघाटधाम रहेको बताउनुभयो । उहाँले टोलीमा सहभागी सबैलाई डिजिटल प्रविधिमार्फत भरतपुरको पर्यटनलाई विश्वभर प्रचारप्रसारका लागि आग्रह गर्नुभयो ।
४४ औँ विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोली काठमाडाँै, हेटौडाँ, भरतपुर, लुम्बिनी हुँदै पोखरा पुग्ने छ । करिब ५० बाईकमा १०० जनाको टोलीले नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न समयमा यस्ता टुरहरु गर्दै आईरहेको छ ।


