असोज २० ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताउनुभएको छ ।भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गर्नुभयो ।
महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिनुभयो ।महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको जानकारी दिनुभयो।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा बधाई पनि दिनुभयो । आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गर्नुभयो ।
प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गर्नुभयो ।कृषको आर्थिक उन्नती, राजगारी सिर्जना र उभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिनुभयो । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्ष्ति गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गर्नुभयो ।चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशु आहार र साईलेज उत्पादन गर्दै आइरहेको छ ।
सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ ।उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।


