काठमाडौं, कात्तिक २०
निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ । बोर्डले फिल्मको रनटाइम २ घण्टा २९ मिनेट ३१ सेकेण्ड तय गरिदिएको छ ।
फिल्मको कदृश्य र संवादमा समितिले आपत्ति जनाएको छैन । निश्चलका अघिल्ला फिल्मका केही दृश्य र संवादमा बोर्डले आपत्ति जनाएको थियो । ६ वर्षपछिको पुनरागमनमा भने निश्चललाई समितिबाट राहत मिलेको छ ।
नेपाली फिल्मको औसत रनटाइमअनुसार ‘दिमाग खराब’को लम्बाइ केही लामो हो । रनटाइम साढे दुई भनिए पनि हलको ब्रेक जोड्दा दर्शकले तीन घण्टा हलमै बिताउनुपर्नेछ । खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मले सर्वसाधारणले राजनीतिबाट खेप्नुपरेको हैरानी र संघर्षलाई चित्रण गर्छ । सिनेमा आर्टले निर्माण गरेको फिल्म आगामी शुक्रबार प्रदर्शन हुँदैछ । सोही दिनमा हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ पनि रिलिज हुँदैछ ।


