चितवन, कात्तिक २७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आईपुग्नु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताउनु भयो । “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।” नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको कारण म यहाँ आएको हु, “चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ, उहाँले भन्नु भयो ।”

मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उहाँले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताउनु भयो । चेपाङ समुदायको भाषा, धर्म र संस्कृति लोप भए, नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उहाँको तर्क छ ।
फरक प्रसङ्गमा उहाँले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताउनु भयो । नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको बताउनु भयो ।
मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् ।

त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङ र सप्रेमीस्थित चेपाङ समुदायमा पुग्नेछ । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ, चेपाङ ७९ वर्षीय छन् ।


