काठमाडौँ, पुष ५
नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । कार्यक्रम आयोजक फ्लाई नेपाल निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका छन्। अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशक समेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।
पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहने बताए । उनले थप्दै ‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ, तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ ।
‘


