नारायणगढको क्याम्पाचौरमा शनिवारदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा भएको फुड फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् ।
फुड फेस्टिबलको उद्घाटन गर्दै अधिकारीले अर्थतन्त्र सुधारको लागि फुड फेस्टिबल पनि एउटा अंग हुने विश्वास व्यक्त गरे का छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महानगरले भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले स्थगित भएको भ्रमण वर्ष सन् २०२४ भित्र उद्घाटन गरिने बताए । सडक स्तरोन्नती सकिएपछि भ्रमण वर्षको उद्घाटन गरिने उनको भनाइ थियो ।
फुड फेस्टिबलको उद्घाटनका दिन कलाकारहरु सागर लम्साल ‘बले’, पशुपती शर्मा, प्रिती आले र ढाकाराम पौडेलले प्रस्तुती दिए । पुस १८ गतेसम्म चल्ने फुड फेस्टिबलको शनिबार उत्साहका साथ उद्घाटन गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ९कृष्ण०ले बताए । फुड फेस्टिबल नाफा कमाउनका लागि नभई होटल व्यवसाय क्षेत्रको प्रबद्र्धन एवम् अर्थतन्त्रलाई चलायमान बनाउन आयोजना गरिएको उनले बताएका छन् ।
फुड फेस्टिबलमा साना ठूला गरी ३९ वटा स्टल रहेका छन् । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ । फुड फेस्टिबलमा भोलि पुस १५ गते स्वप्न सुमन र पुस १६ गते द स्याडोज ब्याण्डको विशेष प्रस्तुती रहनेछ । यी दुई दिन ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
फुड फेस्टिबल परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुको साथै फ्रि वाइफाई र निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


