काठमाडौँ , माघ १
बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ‘फाइटर’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा ४० भारतीय सेनामाथि आतंकवादी हमलापछि त्यसको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।
सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक ‘पैटी’, दीपिका ‘मिन्नी’ र अनिल कपूर ‘रकी’ पात्रको भूमिकामा देखिनेछन्।
सिद्धार्थ आनन्दले ‘पठान’ र ‘वार’जस्ता व्यावसायिक हिट बलिउड फिल्म निर्देशन गरिसकेका छन् ।आईएमडीबी र पिंकभिल्लाले ‘फाइटर’लाई सन् २०२४ को सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा उल्लेख गरेका छन् ।
‘फाइटर’ मा पाकिस्तानका कट्टरवादीको आक्रमणमा ४० भारतीय सैनिक जवानले ज्यान गुमाएपछि त्यसको बदला लिन भारतको वायुसेनाले पाकिस्तान नियन्त्रित कश्मीरमा गर्ने हवाई आक्रमणको कथा यसमा छ ।यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुँदैछ।


