चितवनको माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा चाँडै विद्युत् पुर्याउँने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
बाँदरझुलामा राष्ट्रिय प्रसारण लाइन नपुग्दा स्थानीय अँध्यारोमै बस्न बाध्य बनेका छन् । केही घर परिवारले सौर्य प्रणालीको विद्युत् उपभोग गर्ने गरेका भए पनि धेरैजसो घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।
नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेपनि चितवन राष्ट्रिय निकुञ्जले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि विद्युतीकरणका लागि टेण्डर रोकिएको थियो । बाँदरझुला भन्दा दुई किलोमिटर टाढा ठोरीसम्म विद्युत् पुगेको छ ।
निकुञ्जले आफ्नो क्षेत्र दाबी गरेपनि स्थानीयले २०४७ सालदेखि नै आफूहरुले भोगचलन गरेको भन्दै जग्गा आफुहरुको दाबी गर्दै आएका छन् ।
विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले स्थानीयसँग छलफल गरेको छ।
छलफलका क्रममा घिसिङले निकुञ्जले बस्ती हटाएमा विद्युत्का संरचना पनि हटाउने गरी विद्युतीकरणका लागि छलफल भइरहेको र चाँडै बस्तीमा विद्युत् पुर्याउने बताउनुभयो ।


