भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनु भयो । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर काम गर्ने बताउनु भयो ।
मेयर दाहालले अबको शिक्षा बैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ, गुणस्तरिय शिक्षा दिन जरुरी छ, विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ, यसमा महानगरले जोड दिइरहेको छ, भन्नुभयो । भरतपुर महानगरले शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजाने योजना बनाईरहेको छ ।
यसैगरि भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले पर्याप्त पर्यटकीय पूर्वाधार र प्रचार प्रसारको अभावमा पर्यटकीय हब नै बन्ने यो ठाउँ ओझेलमा परेको वताउनु भयो। उहाँले केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जानकारी गराउदै पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको वताउनु भयो। विध्यालयको अर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्दै उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेको जानकारी गराउनु भयो ।
सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुन्छ। उक्त कार्यक्रमका लागि संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई १० लाख उपलब्ध गराएको र सोही रकमबाट ब्लक इँटा बनाउने मेसिन खरिद गरेर विद्यार्थीहरुलाई उत्पादनसँग जोडेको छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आयआर्जन पनि गर्ने योजनाका साथ यो कार्यक्रम लागू गरिएको छ ।
विसं२०२८ सालमा स्थापना भएको विध्यालयमा विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको हो। कक्षा ९ मा २७ जना, कक्षा १० मा ३७ जना, कक्षा ११ मा १८ जना र कक्षा १२ मा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरु कक्षा १२ उत्तीर्ण गर्दैगर्दा सब–इन्जिनियर हुन्छन् ।


