भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउने भएको छ ।
विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न हुँदैछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।
भरतपुर–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । दुईपटकसम्म पुल भत्किएपछि काममा थप ढिलाइ भएको हो ।
डिभिजन सडक कार्यालयका तत्कालीन डिभिजनल प्रमुख हरिकुमार पोख्रेल हुँदा निर्माण सम्झौता गरिएको यो पुल आठौँ प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित हुने भएका छन् ।


