गण्डकी, ४ चैत: पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो ।
समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे ।
धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ सुनाउनुभयो । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलनुभयो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराउनुभयो र आफ्नो प्रस्तुति दिन सुरु गर्नुभयो । अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाउनुभयो ।
पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उहाँ प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै हुनुहुन्थ्यो । सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताउनुभयो । उहाँले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गर्नुभयो ।
“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भन्नुभएको थियो । उहाँको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाच्नुभयो ।
गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो । प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे ।


