‘ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भएको छ । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको अवार्ड आगामी सेप्टेम्बर २८ तारिखमा न्यूयोर्कमा आयोजना हुने भएको हो ।
चलचित्रकर्मीलाई सम्मान पुरस्कार र सम्मान मार्फत प्रोत्साहन दिने उद्देश्यले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुँदै आएको आयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष अभिनेता कृष्ण मल्लले बताएका छन् ।
एटिए एभरेष्ट इन्स्योरेन्स, एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी, त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कको समेत सहकार्य अवार्डमा रहने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिएका छन् ।
कोलोराडो, सन् फ्रान्सिस्को र न्यूयोर्क गरेर ६ संस्करण सम्पन्न गरिसकेको अवार्डको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरूबिच प्रत्यक्ष साक्षात्कार, कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन लगायतको रहेको छ ।
नेपालबाट समेत विभिन्न कलाकर्मीको सहभागिता रहने अवार्डले संसारभर छरिएर रहेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने विश्वास मल्लको रहेको छ ।
अवार्डको लागि छनौट समिति छिट्टै गठन हुने र चलचित्र दर्ता प्रक्रिया समेत अगाडि बढ्ने आयोजक फिल्म सोसाइटीले जनाएको छ । अवार्डमा प्रेस संयोजक सूर्य चन्द रहेका छन् ।


