कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको गैंडा ‘मेघौली’ लाई चितवन फिर्ता ल्याइने भएको छ।
चैत १० गते स्थानान्तरण गरिएको गैंडालाई उपचार गर्न चितवन ल्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्यामकुमार शाहले जानकारी दिएका छन्।
चैत ११ गते इन्क्लोजरभित्र राख्दा भित्तामा हानेर गैंडाको शरीरमा चोट लागेको छ। इन्क्लोजरबाट बाहिर निकाल्दा चर्न नमानेको र धेरै पर पुगेको थियो।
गैंडालाई लिन चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरूको टोली खोरसहितको ट्रक लिएर कोशी जाँदैछन्।
सौराहाको सडकमा भौंतारिँदै हिँड्ने यो एक सिंगे गैंडालाई करिब ६ वर्षअघि पश्चिम चितवनको मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटेर उद्धार गरी सौराहा ल्याइएको थियो। त्यसपछि उसको नाम नै ‘मेघौली’ बन्यो। बच्चा अवस्थामा सहारा दिन उसलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा ल्याइएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा हुर्किएका पुष्पा र अञ्जली नामका दुइटा पोथी गैंडाहरूलाई गत असोजमा कोशी टप्पुमा स्थानान्तरण गरिएको थियो।


