काठमाडौं ,बैशाख २५
मंगलवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र ‘पुजार सार्की’को ट्रेलर गर्दै सार्वजनिक गरिएको छ। जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
पूजारको भूमिकामा रहेका आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्छ । कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा छन् । जातका कारण उनीहरुको सम्बन्धमा आउने आरोह-अवरोहलाई ट्रेलरले देखाउँछ । अभिनेता पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् ।
निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्।
चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।


