धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
पार्क अवलोकन भ्रमण गर्न उदयपुर, खोटाङ, धककुटा, सिरहा सप्तरी, बुटवल, धरान, इटहरी, मोरङ, झापालगायतका जिल्लाहरुबाट पर्यटक आउन थालेका छन् ।
धरानको भानुचोकबाट करिब ६ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ । पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् । दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।
ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो ।
धरान-१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । पछिल्लो समय प्रदेश सरकारको ४० लाख सहयोगमा एक किमी सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै गएको छ ।
यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताउनुभयो । यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।


