प्रसाद-२ फिल्ममा ठगी गरेको आरोपमा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापासहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ।
काठमाडौं जिल्ला अदालतमा तीन जनाविरूद्ध ठगी कसुरमा मुद्दा दायर भएको हो।
प्रहरी वृत्त बौद्धले ओएसआर डिजिटलका संचालक ओमप्रकाश अग्रवा र फिल्म निर्देशक सुदर्शन थापालाई पक्राउ गरेको छ। एडिटर मिलनकुमार श्रेष्ठ भने फरार प्रतिवादी कायम भएका छन्।
उनीहरूले प्रड्युसर समेत रहेका सुदर्शन बस्नेतलाई जानकारी नदिई र अनुमति समेत नलिई ओएसआर डिजिटलमार्फत फिल्म प्रदर्शन गरेको आरोप छ।
२०७९ फागुन १९ गतेबाट अनुमति बिना प्रदर्शन गरेको र यसबारे थापा पाएर बस्नेतले सोध्दा पनि गैरजिम्मेवार जवाफ पाएको बस्नेतको जाहेरीमा उल्लेख छ।
यसरी उनीहरूले अमेरिका, अष्ट्रेलिया, दुबई, कतार, बहराइन लगायत मुलुकहरूमा आफू खुसी फिल्म बेचेर विश्वासघात गरेको बस्नेतको दाबी छ। उनीहरूले त्यबापत एक करोड ५० लाख बराबरको नोक्सानी गरेको हुँदा क्षतिपूर्तिसमेत माग गरेका छन्।
पक्राउ परेका ओमप्रकाश अग्रवाल र सुदर्शन थापा दुबैले इन्कारी बयान गरेका छन्। सरकारी वकिल कार्यालयले उक्त रकम मागदाबी र ठगी सम्बन्धी कसुरमा कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ।


