असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले व्यापक प्रचार प्रसारको सुरुवात गरेको छ ।
शनिबार अर्थात् असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।
शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।
सिनेमाको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफु भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन सिनेमामा बाँच्न पाएको र आफुले यो कारेक्टरलाई न्याय दिने दिलोज्यान लगायकाले सवैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए । यो सिनेमा मगर समुदायमा आधारित भएतापनि सम्पुर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई मन पर्ने बताए ।
यस्तै भूमे पर्वमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि सिनेमाले दर्शकको मन जित्ने विश्सास व्यक्त गरेका थिए । निर्देशक अनिल र निर्माता जनकले लामो समयदेखि आफुहरुले यस्तो खालको सिनेमा निर्माण गरिरहेको र सो सिनेमामा दयाहाङ र मिरुनालाई अभिनय गराउने कुरा गदाई आफुले नपत्याएको समेत बताए ।
‘आज आफ्नै अगाडी दयाहाङ र मिरुना सिनेमा प्रचारको लागि आएको देख्दा निकै खुशी लागेको भन्दै दुवै जना भर्सटायल कलाकार रहेकाले आगामी दिनमा अझै सफलताको मेरो तर्फबाट दिन चाहान्छु’, अर्थमन्त्री पुनले भने, ‘केही समयअघि दयाहाङ जी जारी सिनेमामा लिम्बु समुदायको प्रतिनिधि पात्र भएर मिरुना जीलाई तान्दै हुनुहुन्थ्यो । अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने सिनेमामा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ ।’
असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।


