कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।
व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् । उहाँले भन्नुभयो, “लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।” रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् । उहाँले भन्नुभयो, “रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।”
पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् ।
यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताउनुभयो । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गर्नुभएको हो ।


