श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ।
काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।
‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।
अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने। सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन्। गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्।
चलचित्रको अर्को गीतमा शान भुसालको शब्द तथा सङ्गीत रहेको छ भने स्वरूप राज आचार्य र एरिका क्षेत्रीको स्वर रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स रहेको छ।
ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।


