चितवनको पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको छ । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको छ । रोपाई सुरु भएपनि चितवनका किसानलाई रोपार पाउन मुस्किल परेको छ । असार महिना सकिनै लाग्दा पनि चितवनका किसानहरु अहिले रोपार खोजी गर्दै हिँड्नुपरेको छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । अधिकारीले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारी गरेको बताउ छन् ।
भरतपुर –२४ का रतिमाया गुरुङ पनि यस्तै समस्यामा छिन् । गुरुङले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छन् । तर उनलाई रोपार पाइने हो या होइन भन्ने त्रास छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् । यसैगरि भरतपुरकै शिव शर्मा पनि अहिले रोपारकै खोजीमा छन् ।
चितवनका अधिकांश स्थानीय युवायुवती विदेश पलायन भइसकेका छन्। स्थानीय युवाहरु नहुँदा कृषि क्षेत्रमा कामदार पाउन मुस्किल परेको हो ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिएका छन् । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ ।
जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ ।


