आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले बक्सअफिसमा सुखद् सुरुवात गरेको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए ।
सिनेमाका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । शुक्रबार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले सिनेमाको शोमा बढोत्तरी समेत गरेका छन् ।
सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमलाई छ । निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए । हामीले विभिन्न हलमा अनलाई टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्थ्यो । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणीत हुन्छ ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।


