चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ ।
गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो ।
नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि चितवनमा स्वास्थ्य बिमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ ।
अस्पतालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुनः थालिएको जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा आबद्ध हुने प्रत्येका परिवारले पाँच जनासम्मको वार्षिक तीन हजार पाँच सय र सो माथि परिवार सदस्य रहेमा प्रत्येकको थप सात सय रुपियाँ लाग्छ । किमा सेवा लिने व्यक्ति आफैँले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ । जसलाई बिमा बोर्डले सहभुक्तानी भनी परिभाषित गरेको छ ।
चितवनमा वघौडा अस्पताल माडी, बकुलहर अस्पताल, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, मनकामना अस्पताल र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले हाल स्वास्थ्य बिमा कार्यक्रम चलाइरहेका छन् ।
चितवन मेडिकल कलेजमा गत आर्थिक वर्षमा एक लाखसम्मको छुट लिनेको सङ्ख्या ९९२ थियो । निःशुल्क डाइलासिस ६ हजार २३१ सेसन छ । भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार ३९५ ले सेवा लिएका छन् । गत आर्थिक वर्षमा गरिब, विपन्न छुटअन्तर्गत पाँच करोड ६१ लाख आठ हजार ४१३ रुपियाँ बराबरको उपचार अस्पतालले निःशुल्क दिएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क डेलिभरी (साधारण) र अप्रेशन (शल्यक्रिया) सेवा साथै बाटो खर्च पनि उपलब्ध हुने गरी सुत्केरी सेवा दिँदै आएको छ । डाइलासिस र खोप सेवा पनि निःशुल्क छ । गत आर्थिक वर्षमा हामीले एक हजार ५५ जनालाई निःशुल्क प्रसूति सेवा दिएको जानकारी दिएको छ ।
अस्पतालले गत आर्थिक वर्षमा (२०८० साउन १ देखि ०८१ असार ३१ गतेसम्म) बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार ५५१ छन् भने एक लाख सात हजार ३९९ जना फलोअप बिरामी छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा अस्पतालले दिएको छ ।


