अहिलेसम्म त्रिशूलीमा खसेका कुनैपनि सवारी साधन फेला पर्न सकेको छैन । २०७३ पछि त्रिशूलीमा खसेका ७ वटा सवारी साधन फेला परेका छैनन् ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको तथ्याङ्क अनुसार दुई वटा स्कोर्पियो, दुई वटा ट्रक, एउटा ट्याक्टर र दुई वटा डिलक्स बस त्रिशूलीमा खसेर फेला नपरेका हुन् । २०४९ मा त्रिशूलीमा खसेको ‘स्वाभिमान परिवहन’को अवस्था अहिलेसम्म अज्ञात छ ।
२०८१ असार २८ मा भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसे । अविरल वर्षाको कारण लेदोसहितको माटो खसेर बगाएका ती दुई बसमा कुल ६५ जना यात्रु सवार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए । उनले भने, ‘तीमध्ये ३ जना हामफालेर बाँचे, १८ जनाको शव भेटिएको छ ।’
डिलक्स बसमा सवार अरु ४४ जना बेपत्ता छन् । बस खोज्न सशस्त्र प्रहरीका ११ जना र सेनाका ८ जना गोताखोर घटनास्थलमा परिचालन गरिएको छ । सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले भने, ‘गोताखोर सहित हाम्रो अरु उद्धार टिम पनि घटनास्थलमा परिचालन गरिएको छ ।’ तर, अहिलेसम्म बसको अवस्था अज्ञात छ ।
सशस्त्र प्रहरीमा लामो समय उद्धार अनुभव भएका एक जना अधिकृत बस फेला पर्नेमा आशङ्का व्यक्त गर्छन् । उनले भने, ‘त्रिशूलीको उच्च बहावका कारण ती बस फेला पार्न मुस्किल छ ।’
पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरे मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै गर्दा चितवनको दारेचोकस्थित घोप्टेभिरबाट त्रिशूलीमा खस्यो ।
२०७३ असोज ९ मा आफू चढेको बा९च १५३१ नम्बरको स्कोर्पियोसहित सडकबाट १५० मिटर तल खसेका माधव, उनका भाइहरू प्रकाश र मनमोहन अहिलेसम्म बेपत्ता छन् ।
घिमिरे चढेको स्कोर्पियोको अवस्था अहिले पनि अज्ञात छ । पानीको वेगसँगै बगेर आउने चिजबस्तुले हान्दा स्कोर्पियो टुक्रा परेर अब नभेटिने अवस्था भइसकेको त्रिशूलीमा लामो समयदेखि उद्धारमा संलग्न सशस्त्र प्रहरीका गोताखोरहरू बताउँछन् ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङसहितका सुरक्षाकर्मी सवार एउटा र अर्को एउटा मालबाहक ट्रक २०७४ असार ९ मा त्रिशूलीमा खसे । मध्यराति १ बजेर १५ मिनेटमा इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा अचानक पहिरो खस्दा ना१झ १३९० नम्बरको स्कोर्पियो र ना५ ख ७८२७ नम्बरको मालवाहक ट्रक बेपत्ता भएका हुन् । सो दुर्घटनामा परेका ४ जनाको शव भेटिएको छ । स्कोर्पियो र मालवाहक ट्रक अहिलेसम्म बेपत्ता छन् ।
२०७९ साउन २८ मा इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला पुल नजिक मुग्लिङबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खस्यो । राजमार्गबाट त्रिशूलीमा खसेको ट्रक अहिलेसम्म बेपत्ता छ । ट्रक चालक भने बाँच्न सफल भए ।
त्रिशूलीमा बेपत्ता सवारी–साधनको तथ्याङ्क



