काठमाडौं,साउन १४
मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आउनु भएको छ । उहाँका साथमा केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि हुनुहुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरुलाई नेपाल पर्यटन बोर्ड, एनआरएनए र पर्यटन प्रवर्धकले परम्परागत पञ्चेबाजासहित स्वागत गरेका छन् ।
उहाँहरुलाई पर्यटन बोर्डका कमल सापकोटा, पर्यटन प्रवर्द्धक सोम सापकोटा, नेपाल सरकारका प्रतिनिधि, एनआरएनए एनसीसी माल्टा अध्यक्ष रेम्स खनाललगायतले मिस माल्टालाई स्वागत गर्नुभएको थियो ।
नेपाल भ्रमणमा रहँदा उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, उहाँहरूले चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सम्पदाको भ्रमण गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यसैगरी, उहाँहरूले नेपालका विद्यालयहरू भ्रमण गर्नेछन् र सहयोग चन्दा प्रदान गर्नेछन्।
साथै भ्रमणका क्रममा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, भरतपुर महानगरपालिकका प्रमुख रेनु दाहाल र रत्ननगरका प्रमुख प्रल्हाद सापकोटासँग भेटवार्ता गर्ने छन् । साथै चितवनमा रहँदा सफारीको मजा लिने र विभिन्न गतिविधिमा व्यस्त रहने भ्रमण तालिकामा उल्लेख छ ।
साथै नेपाल बसाइमा मिस माल्टा नेतृत्वको टोलीले नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउने थप सम्पदाहरुको स्थलगत भ्रमण गर्ने छ । उहाँहरू भदौ ५ गतेसम्म नेपालमै बस्नु हुने छ ।


