चितवन, भदौ ८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ ।होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो ।भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उहाँको भनाई छ ।
यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताउनुभयो । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उहाँले बताउनुभयो ।बजार क्षेत्रको पार्किङको समस्या समधान गर्न यहाँका स्थानीय र महानगरको समवन्यमा स्थानको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा कठिनाई आएको स्मरण गर्नुभयो ।
होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहँुदा नेपालका १० औं हजार होटेल ब्यवसायी मर्कामा परेको उल्लेख गर्नुभयो । उहाँले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उहाँले आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा संघ चितवन कार्यवहाक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मन्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।


