चाडपर्व नजिकिएसँगै युट्युबको नेपाल ट्रेन्डिङमा फिल्मका गीत शीर्षस्थानमा उक्लन थालेका छन् ।
दशैंतिहारमा नेपाली फिल्मको बाढी नै आउँदैछ । यसको प्रभाव युट्युब ट्रेन्डिङमा देखिन थालेको हो । संविधान दिवसमा रिलिज हुन लागेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ अहिले चर्चामा छ । यो गीत केही दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङमा छ ।
शान्तिश्री परियार र एसडी योगीको स्वर तथा संगीत रहेको गीतलाई अहिलेसम्म ७८ लाख पटक हेरिएको छ । यो गीतको भिडियोले फिल्मको कथावस्तुलाई चित्रण गरेको छ ।
त्यस्तै दोस्रो स्थानमा दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्म ‘१२ गाउँ’को गीत ‘सिनेमा हेर्न जाऊँ’ छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा समीर भट्ट र सोनु चन्द्रपालको अभिनय छ ।
गत सातासम्म युट्युब ट्रेन्डिङमा तीजका गीतको दबदबा थियो । क्रमशः तीज गीतलाई रिप्लेस गर्दै अन्य जनराका गीत माथि उक्लन थालेका हुन् ।


