चितवन, मंसिर १३ । पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा रहेका अधिकांश अस्पताल सदामुकाम केन्द्रित रहेकाले जनताको घरघरमै सेवा पुराउन दिव्यनगरमा नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनुभयो ।
सामान्य भन्दा सामान्य उपचार गर्न १ दिनको समय लिएर सदारमुकाम जानुपर्ने विगतको अवस्था स्वास्थ्य चौकी निर्माण भएपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।संघीय गणतन्त्रको मर्म र भावना अनुसार महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो ।
प्रमुख दाहालले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नित गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाँउमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य महानगरले विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो ।भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
मुल्य अभिवृद्धि करसहित रु १ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको भवन आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । यो भवन निर्माण भएसँगै पश्चिम चितवनवासीको घरदैलोमा थप स्वास्थ्य सेवा पाउने छन् । निर्माणको जिम्मा देउराली शर्मा जेभिले पाएको छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्य हल, १४ वटा कोठा रहने छन् । शिलान्यास कार्यक्रम वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


