पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरले गरेकोे विकास अन्य पालिका, प्रदेश र केन्द्रले समेत अनुकरण गर्न योग्य रहेको बताउनु भएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को सफल समापन एवं एवं पाँच दिन अगाडि देखि पश्चिम चितवनको मेघौलीमा सुरु गरिएको राष्ट्रिय रैथाने खाना महोत्सवको मङ्गलवार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले उद्घाटन स्थल र वार्षिकोत्सव स्थलको विषयमा बोल्दै भन्नुभयो, ‘भ्रमण वर्षको सुरुआत चितवनको मुख्य बजार नारायणगढ नारायणी किनारबाट सुरु भएको थियो र समापन मेघौलीमा हुनुले महानगरको समग्र विकास र जनताको एकताको सन्देश दिएको छ ।’

भरतपुर भ्रमण वर्षले वार्षिकोत्सव मनाएर सन् २०२५ लाई स्वागत गर्दै गरेको उक्त औपचारिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले देशमा केही वर्ष यता नकारात्मक सन्देश दिने खालका टिप्पणी र भनाइहरू आइरहेको केही हुँदैन, देशमा बसेर केही गर्न सकिँदैन भन्नेहरूलाई महानगरको विकास उदाहरण र मोडेल बनेको उहाँको भनाई थियो । उहाँले यसो हुनुमा यहाँका जनताको एकता र नेतृत्व सही र निस्वार्थ हुनुको परिणाम भएको पनि दाबी गर्नुभयो ।

भरतपुर महानगर कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा मात्र नभएर खेल पर्यटनमा पनि स्थापित हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकालमा चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको पनि बताउनुभयो । र रङ्गशालाको लागि आवश्यक बजेट निकासाको लागि पहल गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा चितवन जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, नेकपा एमाले नेता कृष्णप्रसाद भुर्तेल, नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रम पूर्व तेलौली बजार देखि कार्यक्रम स्थल सम्म बाजागाजा र झाँकीसहितको र्याली गरिएको थियो ।


