अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।
यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लाग्नुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउनुहुन्छ । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।
केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उहाँको भनाइ छ ।
होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्नुहुन्छ । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उहाँले बताउनुभयो । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उहाँको भनाइ छ ।
सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् ।
असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नुपथ्र्याे, यो वर्ष यस्तो भएन ।” आएकामध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।


