बैशाख २२ , चितवन । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरमा विकासको सुरुवात भएको बताएकी छन् । उनले समग्र विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा आएको बताएकी छन् ।
सत्तारुढ गठबन्धनले भरतपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक बत्तीका क्षेत्रमा राम्रो काम भएको बताएकी छन् ।उनले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन् । उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने पनि बताइन् । उनले भनिन्, ‘पूर्वाधारक क्षेत्रमा कास्टिङ भइसकेको छ, अब फिल्म देखाउन बाँकी छ ।’
आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र आगामी कार्यकालका लागि निर्वाचित भएर आएमा थप लगानी गर्ने उनको प्रतिबद्धता थियो । ‘पाँच वर्षको समग्र मूल्यांकन गर्दा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढाएका छौं । महानगरको बजेटको १५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगाएका छौं,’ उनले भनिन्, ‘पौने चार अर्बको खानेपानी आयोजना अगाडि बढाएका छौं । देशकै हेर्न लायक र गर्व गर्न लायक महानगर बनाउन अन्तर्राष्ट्रिय मापदण्डको सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण भइरहेको छ । नारायणीको तटबन्धन दिगो र भरपर्दो बनाएर अगाडि बढाइएको छ । त्यसलाई पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढाएका छौं ।’दाहालले अघिल्लो कार्यकालमा आफूले जानाजान गल्ती नगरेको र अन्जानमा भएका गल्ती नदोहोर्याउने बताएन् ।


