बैशाख २६, भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले आफूलाई मतदान गर्न भरतपुरका महिलाहरूलाई पत्र लेखी अपिल गरेकी छन् । आफू भरतपुर महानगरका बाँकी कार्यभार पूरा गर्ने अभियानमा रहेको भन्दै सहयोग गर्दिन भन्दै दाहालले सार्वजनिक पत्र लेखेकी हुन् । आफू मेयर रहँदा सबैको हौसला र सहकार्यले महानगरपालिकाको अनुहार फेर्न सुरु गरिसकेको भन्दै उनले बाँकी केही संकल्प र योजना पूरा गर्न पुनः निर्वाचित हुन चाहेको बताएकी छिन् ।
‘महिलाका लागि भरतपुर अस्पतालमा निःशुल्क ओपिडी टिकटको व्यवस्था गरी सुरु भएको मेरो कार्यकालमा महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध सुरु भएको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन हजारौँ सीपमूलक तालिम र रोजगारका कार्यक्रमहरू सञ्चालनमा ल्याएका थियौँ । छोरी शिक्षा बिमा कार्यक्रममार्फत सबै छोरीहरूको निःशुल्क बिमा गरी डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, अधिवक्तालगायत राष्ट्रको असल नागरिक बन्ने सपना पूरा गर्ने अभियान चलाएका थियौँ । ती सबै अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन बाँकी छ,’ उनले पत्रमा लेखेकी छन् ।



