बैशाख २६, काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली काँग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् । घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी) ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिइवीले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’,प्रवक्ता केसीले भने ।उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।
आइतबार साँझ करिब ७: ३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो । घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । -न्युज कारखाना


