काठमाडौं , भाद्र ११
दशैमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ । हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ ।
सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरूलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ। निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।
असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्य) केन्द्रमा रहे पनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।टिजरमा प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायाङ्कन कृष्णबहादुर थापा, सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् ।


