जेठ ३ , चितवन । माडी नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का नेता पुरन महतो निर्वाचित हुनुभएको छ ।मंगलबार बिहान सकिएको मतगणना अनुसार बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)का माडी नगर अध्यक्ष समेत रहनुभएका महतोले नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार मधुराम चौधरी, राप्रपाका उम्मेदवार भीम बहादुर कुँवर र गठबन्धन भित्रैका नेपाली काँग्रेसका उम्मेदवार डिल्लिराम चौधरीलाई पराजित गर्नुभएको हो । वडा सदस्यहरुमा भने मिश्रित नतिजा आएको छ ।

उहाँ यसअघि नेकपा (एमाले)बाट सो वडाको वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । एमाले विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी)मा खुल्नुभएका उहाँ माडीमा निर्वाचित हुने एकमात्र थारु वडाध्यक्ष हुनुहुने भएको छ । त्यसैगरी माडीमा अघिल्लो कार्यकालमा वडाध्यक्षको जिम्मेवारी पुरा गरी पुनः वडाध्यक्ष निर्वाचित हुने पनि एकमात्र वडाध्यक्ष बन्नुभएको छ ।
वडाध्यक्ष निर्वाचित महतोले ६८९ मत ल्याउँदा एमालेका चौधरीले ५१२, काँग्रेसका चौधरीले ४१४ र राप्रपाका कुँवरले १७५ मत पाउनुभयो । सो वडाबाट नगरप्रमुखमा एमालेका ताराकुमारी काजी महतोले १२१७ र माओवादी केन्द्रका ऋषि काफ्लेले ६३४ मत पाउनुभएको छ । त्यस्तै नगर उपप्रमुखमा काँग्रेसका खेम महतोलाई ६५१, राप्रपाका मदन पौडेललाई ५७१ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेललाई १८६ मत आएको छ


