काठमाडौँ, मङ्सिर ०५
नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो ।सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई /दुई विकेट लिए ।
पोखराका लागि कुशल भुर्तेलले ५३ रन र जिम्मी निसमले ४७ रन बनाए आउट हुँदा डान डाउथवैटको ३७ रनको योगफल पर्याप्त हुन सकेन।विपिन खत्री, सुमित वर्मा, किरण ठगुन्ना, अभिशेख तिवारी, दिनेश खरेल र एडम रोसिङ्टनले दोहोरो रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि हर्मित सिंह दुई, हेमन्त धामी, दिपेन्द्रसिंह ऐरी, नरेन साउद, स्कट कुग्गेलेजिन र अविनाश बोहराले समान एक एक विकेट लिए।
पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले हारेको थियो। यता, सुदूरपश्चिमले अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको थियो।


