काठमाडौं, मंसिर १४
कृष्ण फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। आउँदो मंसिर २६ गते शुक्रबारबाट देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मको ‘लाजै नमानी’ बोलको रोमान्टिक प्रेमिल गीत ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा प्रमुख कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। स्वर मेलिना राई र नारायण थापा को रहेको छ भने शब्द शंकर अधिकारी का हुन्। गीतमा संगीत विकास चौधरी ले दिएका छन्।
काजी लिम्बु द्वारा लेखिएको कथामा बनेको ‘लोकन्ती’ लाई निर्देशक रञ्जित राना ले पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन्।फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको यस फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।
फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापा को अनस्क्रिन केमिस्ट्री देख्न सकिनेछ। साथै विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ।
यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारी ले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। चलचित्रका संगीत निर्देशक विकास चौधरी, छायाकार रोनिश तामाङ च्याङ्बा, शृंगार अशोक रोका, र सम्पादन गौतम राज खड्का ले गरेका छन्।
चलचित्रमा शंकर अधिकारी, डा. ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगी का गीत रहेका छन्। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक समेटिएको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।


