काठमाडौं, मंसिर १५
निर्देशक दिनेश राउतको नयाँ प्रेमकथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीतसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवावर्गलाई लक्षित गरेको बुझिन्छ।
यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा उक्त गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड केहर एन्ड द लुङ्गाले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेषगरी ‘जेन–जी’ बीच लोकप्रिय बन्दै गएको छ।
चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि देखिनेछन्।
‘आइ एम सरी’बाट निर्देशन सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्माण गर्दै आएका उनले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्। उनका अनुसार ‘कुमारी’ प्रोजेक्ट ‘पुजार सार्की’भन्दा पहिल्यै सुरु भए पनि विभिन्न कारणले ढिलोगरी बनेको हो।
‘कुमारी’मा चार गीत रहेका छन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुकै छ भने संगीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
चलचित्र बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको हो। निर्माता महेन्द्र अधिकारी रहेका छन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। छायांकन निर्देशक सुसन प्रजापति, कार्यकारी निर्माता केदार भुसाल, सम्पादन तथा रङ संयोजन सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपाने, कोरियोग्राफी किरण थापा र शिशिर खाती, तथा कस्ट्युम डिजाइन अञ्जली रिजालको रहेको छ। प्रोडक्सन डिजाइन आशिका शर्माले भनेकी छन्।
डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्दैछ भने काठमाडौं उपत्यकामा डीसीएन, उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्नेछन्। पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार पारेको छ।


