काठमाडौं, मंसिर १६
निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत ३ मिनेट १ सेकेन्ड लामो ट्रेलर रिलिज गरिएको हो।
ट्रेलरमा नेपालबाट रिण खोजेर अष्ट्रेलिया पढ्न गएका युवाहरूको संघर्ष, परिवारको अपेक्षा र विदेशिएका युवाहरूले भोग्ने वास्तविकता छर्लङ्ग रूपमा देखाइएको छ। अष्ट्रेलियामा पुगेर पीआर लिने सपना बोकेका युवाहरूको यात्रा, उताको कडा परिस्थितिले सिर्जना गर्ने दबाब, र नेपालमा बसेका आमाबाबुले त्यसलाई नबुझ्दा उत्पन्न हुने तनावलाई निर्देशक बस्नेतले कथामा बुनेका छन्। ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी, बिछोड र राष्ट्रप्रेमका भाव प्रमुख रूपमा प्रस्तुत हुने देखिन्छ।

मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बस्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की नेपाल फर्किएका छन्। उनीहरूले चलचित्रमा मुख्य भूमिका निभाएका छन्। साथै, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल पनि प्रमुख भूमिकामा छन्।
फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्। ट्रेलरमा नीर शाहले बोलेको संवाद **‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’**ले दर्शकको मन छोनेमा निर्माण टिम विश्वस्त छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी रहेको छ। छायांकन सौरभ सायमी र सौरभ लामा, सम्पादन बन्दे प्रसाद, कथा–पटकथा गणेश बुढाथोकीको रहेको छ।
गीत–संगीततर्फ, फिल्मका गीतमा मानस राजको संगीत सुन्न सकिन्छ भने सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ। फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। आर आर फिल्म्सले फिल्म वितरण गर्ने जनाएको छ।


