काठमाडौं, मंसिर १९
बलिउडका चर्चित गीत ‘केह दो’, ‘होना था जो’ लगायत दर्जनौँ हिन्दी गीतमा स्वर दिएका गायक उज्वल बाबुले गाएको नयाँ नेपाली गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ। गीतमा उज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ की प्रतिस्पर्धी गायिका जुनु प्रसाईले साथ दिएको छन्।
रोमान्टिक स्वादमा तयार गरिएको गीतले प्रेममा एकअर्काप्रति जीवनभर सच्चा साथ दिने सन्देश बोकेको छ। गीतका शब्द, संगीत र एरेन्ज बाबुल गिरीले गरेका हुन्।
सार्वजनिक भिडियोमा उदयराज गिरी र बिना राउतलाई रोमान्टिक जोडीको रूपमा प्रस्तुत गरिएको छ। उदयराज गिरी एनआरएन पोल्याण्डका २०२५–२०२७ का लागि महासचिव हुन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन सुरेन्द्र बसेल, छायांकन दिनेश पराजुली र सम्पादन राकेश दाहालले गरेका छन्। भिडियोको निर्माण अनुराधा गिरी र मदन प्रसाईले गरेका हुन्।
नेपालका उज्वल बाबु पछिल्ला ७ वर्षदेखि भारतमा बस्दै निरन्तर संगीतमा सक्रिय छन्। उनले विभिन्न बलिउड कार्यक्रमहरूमा काम गर्दै आएका छन्। भारतमै उनले २ वर्ष क्लासिकल र प्लेब्याक कोर्स तथा म्युजिक प्रोडक्सन र साउन्ड इन्जिनियरिङमा डिप्लोमा गरेका छन्। भारतमा नेपाली डबिङमा समेत सक्रिय रहेर उज्वलले थुप्रै हिन्दी गीतमा आफ्नो स्वर भरेका छन्।


