काठमाडौं, मंसिर २५
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले रिलिज भएको मात्र दुई दिनमै युटुबमा एक मिलियनभन्दा धेरै भ्युज हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। समाचार तयार पर्दासम्म टिजरको भ्युज ११ लाख नाघेको निर्माण पक्षले जनाएको छ।
टिजरलाई ५२ हजारभन्दा बढी दर्शकले लाइक गरेका छन् भने २१ सयभन्दा बढीले कमेन्ट मार्फत फिल्मप्रति उत्साह व्यक्त गरेका छन्। कमेन्टकर्ता आशिष मल्ल ठकुरीले टिजर १०३ पटक हेरे पनि मन नभरिएको प्रतिक्रिया दिएका छन्। अर्को कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको अभिनय प्रशंसनीय रहेको उल्लेख गर्दै “विपना थापा इज बेस्ट” भनेर प्रतिक्रिया लेखेका छन्।
फिल्मको नाम ‘आ बाट आमा’ नै पर्याप्त प्रभावशाली रहेको भन्दै धेरै दर्शकले आफ्नो भाव व्यक्त गरेका छन्। विशेषगरी विदेशिन लागेका छोराछोरीप्रति आमाबुबाको पीडा, माया र आत्मीयता झल्काउने टिजर दर्शकलाई मन छुने खालको बनेको छ। यही कारण छोटो समयमै टिजरले यति धेरै माया पाएको निर्माण पक्षले बताएको छ।
चितवन र काठमाडौंसहितका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त र उषा उप्रेतीलगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्। फिल्मले आमा–सन्तानको माया, त्याग र समर्पणको भावनालाई कथाको केन्द्रमा राखेको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपी नवराज उप्रेती हुन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।‘आ बाट आमा’ आगामी माघ १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउदै छ।


