काठमाडौं, मंसिर २५
आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘मुगलान’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार युना डिजिटल युट्युब च्यानलमार्फत २ मिनेट २४ सेकेण्डको ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा नेपाली युवालाई राजनीतिक द्वन्द्वको चपेटामा पारेर परदेशिन बाध्य पारेको संवेदनशील कथालाई प्रस्तुत गरिएको छ। विसं २०५२ सालपछि सरकार र तत्कालीन बिद्रोही पक्षबीचको द्वन्द्वले युवाहरू मुगलानतर्फ धकेलिएको दृश्य टिजरमा देखिन्छ।
मुखियाको ऋण तिर्नका लागि मुगलान हानिएका प्रभात पाल फर्कँदा आफ्नो घर सुनसान देखिन्छ। उनका आमा–बुबा हराएको कथावस्तुलाई ट्रेलरले रोमाञ्चक ढंगले प्रस्तुत गरेको छ। उनीहरू कसरी हराए—मृत्युदेखि अपहरणसम्मका शंकालाई भने फिल्म हलमै थाहा पाइने निर्माण पक्षले बताएको छ।
ट्रेलरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल बीचको प्रेम र बिछोडको भावनात्मक कथा पनि देखाइएको छ। साथै, रामचन्द्र अधिकारी, दिनेश डीसी, सबिन बास्तोला, खबपु, साथै अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम पनि देखिन्छन्।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन आशिष ढकालले गरेका हुन्। फिल्मका निर्माता गोमन सिंह र सह–निर्माता रिता चौधरी रहेका छन्।
संगीत किरण भुषालको रहेको फिल्ममा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) को गायन समावेश छ।गीत आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) ले लेखेका छन्। फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ।ट्रेलर, टिजर तथा गीतहरू युना इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ।


