काठमाडौं , मङ्सिर २९
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को भावुक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो।
गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायत कलाकारहरू देखिएका छन्। भिडियोमा परदेशिएको छोराको पीडा र आमाको निस्वार्थ मायालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतमा शब्द र संगीत बाबुल गिरीको रहेको छ भने स्वर रबी ओडले दिएका छन्।
गीतको भावअनुसार नै भिडियो निर्माण गरिएको देखिन्छ, जहाँ सन्तानप्रतिको माया, ममता र स्नेहको कथालाई फिल्मले मुख्य रूपमा उठान गर्ने संकेत मिल्छ।
गीत रिलिज कार्यक्रममा निर्देशक चन्द्र पन्तले यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए। उनले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो। हामीले यसलाई निकै मेहनतका साथ तयार गरेका छौँ। ‘आ बाट आमा’ शीर्षक नै मैले सुटिङ सुरु गर्नुभन्दा पहिलेदेखि सोचिरहेको सपना थियो। आज सोही गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ। आशा छ, यो गीत सबैले मन पराउनु हुनेछ।”
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका छन्। संगीततर्फ कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ भने गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
अभिमन्यु निरवीको लेखन रहेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य छ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्। ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका हुन्।
यसअघि सार्वजनिक गरिएको टिजर र पोस्टरले नै दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।फिल्म आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।


