काठमाडौं , पौष ०७
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘मिरमिरे’ को टाइटल गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘मिरमिरे भो’ मा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ। शब्द र संगीत पनि प्रकाश सपूतकै रहेको निर्माण टिमले जानकारी गराएको छ।
गीतले एक युवक र युवतीबीचको प्रेमभावना, पहिलो नजरमै परेको आकर्षण र सुन्दरताको प्रभावलाई प्रस्तुत गर्छ। गीतमा युवतीको सुन्दरतामा मोहित भएका युवकको हेराइ र भावनात्मक प्रतिक्रिया व्यक्त गरिएको छ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन्। भिडियोमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम भावनालाई चित्रित गरिएको छ, जसले चलचित्रमा पनि यही कथावस्तु केन्द्रमा रहने संकेत दिएको छ। उक्त प्रेम र सम्बन्धको झल्को चलचित्रको टिजरमा पनि देखाइएको थियो।
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने ‘मिरमिरे’को टिजरलाई दर्शकले रुचाएका थिए। टिजरमा पिता र छोरीबीचको भावनात्मक सम्बन्ध तथा मुख्य पात्रहरूबीचको नोकझोक प्रस्तुत गरिएको थियो। चलचित्रमा बुवाको भूमिकामा दयाहाङ राई तथा छोरीका रूपमा शाइसा गौचनले अभिनय गरेकी छन्।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। आरआर फिल्मसका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसरका रूपमा, सुदीप कुँवर मुख्य सहायक निर्देशकका रूपमा, सञ्जु थलाङ लिम्बु मेकअपमा र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा कार्यरत छन्।चलचित्र ‘मिरमिरे’को देशभरको वितरण आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।


