काठमाडौं , पौष १०
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ को भिडियो सार्वजनिक गरिएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो दर्शकमाझ ल्याएको हो।
ओएसएआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली को आकर्षक नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतको भिडियोमा प्रेमकथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ, जहाँ दुवै कलाकारको केमेस्ट्री दर्शकको ध्यान खिच्ने खालको देखिन्छ।
चलचित्रका निर्देशक विजय केरुङ ले कथावस्तुसँग मेल खाने गीत छनोट गरिएको बताउँदै दर्शकले गीत मन पराउने विश्वास व्यक्त गरे। उनले भने, “कथाअनुसार नै गीत रोजिएको हो। गाउँघरको टिपिकल शब्द र लयलाई समेटिएकाले दर्शकसँग जोडिने अपेक्षा गरेका छौँ।”
गीतको भिडियोमा रामजी लामिछाने को नृत्य निर्देशन रहेको छ भने छायांकन शिव ढकाल ले गरेका हुन्। गीतमा एसडी योगी र रेश्मा पुन को स्वर रहेको छ। संगीत एसडी योगीकै रहेको गीतको शब्द मौसम अर्याल ले लेखेका हुन्।
दिब्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे मुख्य भूमिकामा देखिनेछन्।
एक्सन–सस्पेन्स विधामा निर्माण भएको चलचित्रलाई विजय केरुङ ले निर्देशन गरेका हुन्। चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटी को रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। बन्दे प्रसाद को सम्पादन, रामजी लामिछाने को कोरियोग्राफी र एसडी योगी को संगीत रहेको यस चलचित्रमा द्वन्द्व निर्देशन श्री श्रेष्ठ ले गरेका छन्।
यसअघि सार्वजनिक टिजर र पोस्टरले दर्शकमाझ उत्सुकता बढाइसकेको ‘परिवर्तन’ को वितरणको जिम्मेवारी आर आर फिल्म्स ले लिएको छ।


