चितवन, पुस १० — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल लाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।
जगतपुरमा बसेको पार्टीको क्षेत्रीय बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। क्षेत्रीय तहबाट सिफारिस भएको नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपा नेता सन्तोष पनेरु ले जानकारी दिए।
हाल भरतपुर महानगरपालिकामा करिब एक वर्षको कार्यकाल बाँकी रहे पनि दाहालले प्रमुख पदबाट राजीनामा दिएर संघीय संसदको चुनावमा सहभागी हुने तयारी गरिरहेकी छन्। उनले स्थानीय सरकारमा झन्डै नौ वर्षको अनुभव र जनताको भरोसालाई आफ्नो मुख्य शक्ति मानेर निर्वाचनमा होमिन लागेको बताएकी छन्।
अघिल्ला निर्वाचन अनुभव स्मरण गर्दै दाहालले काठमाडौं क्षेत्रबाट उम्मेदवार बन्दा पराजय व्यहोर्नुपरेको भए पनि यसपटक चितवन क्षेत्र नं. ३ का मतदाताको विश्वास आफूलाई निरन्तर प्राप्त रहेको बताइन्। भरतपुर र माडी क्षेत्रका जनताले दिएको समर्थन आफ्नो राजनीतिक यात्राको प्रेरणा भएको उनको भनाइ छ।
चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिका सहित भरतपुर महानगरपालिकाका १९ वडाहरू समावेश छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट दाहालका पिता तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए।
२०७९ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनतर्फबाट डा. भोजराज अधिकारी उम्मेदवार बनेका थिए, जहाँ उनको राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे सँग कडा प्रतिस्पर्धा भएको थियो। यसपटक रेनु दाहालले आफ्नो प्रशासनिक अनुभव, संगठनात्मक आधार र जनसमर्थनका साथ चुनावी मैदानमा उत्रिने तयारी गरेकी छन्।


