काठमाडौं — चलचित्र ‘बिगुल’ मा समावेश देशभक्तिमूलक गीत ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको गीतमा लोकप्रिय गायक राजेश पायल राईले स्वर दिएका छन्।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा चलचित्रका सबै प्रमुख कलाकारको सहभागिता रहेको छ। गीतमार्फत देशप्रेम, राष्ट्रभक्ति, समावेशीता, शान्ति र जनजागरणको सशक्त सन्देश प्रस्तुत गरिएको छ। राष्ट्रिय झण्डासहित कलाकारहरू सुशासन, विकास र शान्तिको सन्देश फैलाउँदै घरदैलो जागरण अभियानमा लागेको दृश्य गीतमा देख्न सकिन्छ।
देश आम निर्वाचनतर्फ उन्मुख भइरहेको सन्दर्भमा सार्वजनिक गरिएको यस गीतले चुनावी माहौलको झल्कोसमेत दिएको छ। निर्माण पक्षका अनुसार गीतमा आम जनताको भावना र आवाजलाई मुखरित गरिएको छ।
रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। कल्पना पौडेलको प्रस्तुति रहेको यस चलचित्रको यसअघि सार्वजनिक फर्स्टलुक पोस्टर, टिजर र युगल गीतले पनि दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाइरहेका छन्।
निर्देशक रमेश कोइराला भन्छन्,“‘बिगुल’ भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आह्वान गरिएको चलचित्र हो। देशको समसामयिक घटनाक्रम र राजनीतिक विषयवस्तुमा आधारित भए पनि हामीले यसलाई पूर्ण रूपमा व्यावसायिक उद्देश्यका साथ निर्माण गरेका छौँ। चलचित्रमा समाज जागरणको सन्देशसँगै भरपूर मनोरञ्जन पनि प्रस्तुत गरिएको छ।”
जेन्जी आन्दोलनप्रति समर्पित यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेका छन्। चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। चलचित्रको सम्पादन **तारा थापा ‘किम्भे’**ले गरेका हुन्।‘बिगुल’ को वितरण राजधानीभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछ।


